विपद्‍ क्षेत्रमा रोग फैलिन नदिन सबै उपाय अपनाउनुस् : स्वास्थ्यमन्त्री पौडेल

१६ असोज,काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन सक्ने भन्दै यसो हुन नदिन सतर्कताका सबै उपाय अपनाउन तीनवटै तह,खानेपानी मन्त्रालय तथा खानेपानी सम्बद्ध अधिकारीलाई आग्रह गरेका छन्।

मन्त्रालयमा बसेको विशेष बैठकमा बोल्दै उनले बाढी पहिरोपछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला,हैजा तथा डेंगुलगायतका संक्रामक रोग फैलन सक्ने भन्दै रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोग बारे जानकारी गराउन आग्रह गरेका छन्।

उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।