चोरीको जाहेरी दिएकी महिलालाई झुक्याएर बलात्कार गर्न खोजेको आरोपमा सहायक हवल्दार पक्राउ

१६ असोज,काठमाडौं। प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाल चोरी मुद्दामा जाहेरी दिन आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

स्वयम्भूमा बस्दै आएकी जाहेरवालाले कोठामा चोरी भएको भन्दै प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिन गएकी थिइन्।उनका अनुसार स्थानीय प्रहरीले लैनचौर प्रहरी वृत्तमा पनि उजुरी दिनु भनेपछि उनी त्यहाँ उजुरीका लागि गएकी थिइन् ।

चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर छोडेर उनी कोठामा फर्किइन्।केही दिनपछि बुझ्न जाँदा दाहालसँग कुराकानी भएको र चोर भेटिए आफूले खबर गरिदिने भन्दै नम्बर मागेको जाहेरीमा उल्लेख छ।

जाहेरी अनुसार भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ तुरुन्त आउनु’ भन्दै ती महिलालाई फोन गरेका थिए।‘आफ्नो ८ वर्षको बच्चा छ,भोलिपल्ट आउँछु’ भन्दा दाहालले नआए चोरलाई छाडिदिन्छु भन्दै तत्काल आउन बाध्य बनाएको उनको भनाई छ ।

पैसा छैन भन्दा दाहाल आफैँले पठाओ गरेर बोलाएको समेत उनले प्रहरीलाई बताएकी छिन् ।

ठमेलमा आएर चोर कहाँ छ ? भनेर सोध्दा दाहालले एकछिनमा ल्याउछौँ भन्दै होटलको कोठामा पुर्‍याइएको उनले बताएकी छिन्।त्यसपछि दाहलले आफूलाई जबर्जस्ती गर्न खोजेपछि फुत्किएर भाग्न सफल भएको जाहेरीमा उल्लेख गरेकी छिन्।

तर यता हवल्दारले भने आज जसरी पनि चोर समात्नुपर्छ भनेर साँझ फोन गरेका कारण आफूले पठाओ गरेर जाहेरवालालाई बोलाएको बयान दिएका छन्।