छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने

१८ असोज,काठमाडौं। छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ ।त्रिभुवन विश्व विद्यालय,जनसंख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले आउँदो मंसिर १२-१५ सम्म गर्न लागेको सम्मेलनमा ५० भन्दा बढी देशका कम्तीमा ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

शुक्रबार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा छैटौं सम्मेलनको तयारी र यसका उद्देश्यबारे जानकारी दिइएको छ । यो सम्मेलनमा विभिन्न देशका जनसंख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सयभन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने छन् ।

विश्वको जनसाङ्ख्यिक परिदृश्य,जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतीमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरिनेछ ।सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक उद्धव सिग्देलले बताए ।

 

विश्वभर जनसंख्या संरचनामा भइरहेको परिवर्तन र स्थानान्तरणले नेपालजस्ता धेरै देशले विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिको बारेमा पनि गहन छलफल हुने बताइएको छ ।उनले यस सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्वपूर्ण पृष्ठपोषण दिने पनि बताए ।

जनसंख्या र विकासका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अनुभव आदानप्रदान गर्ने यो महत्वपूर्ण अवसर रहेको कार्यक्रममा जानकारी दिइयो ।नेपालको विकासका एजेण्डालाई थप प्रवर्द्धन गर्न प्रमाणमा आधारित विकासका योजना बनाउन बढावा दिने अपेक्षा पनि आयोजकको छ ।

सम्मेलन सम्पन्न गर्न ५ करोड खर्चको अनुमान गरिएको छ ।