दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

२६ असोज,काठमाडौं।बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउँदा टीका थाप्ने पूर्वपट्टि फर्के र बस्ने र लगाइदिने व्यक्ति पश्चिम फर्कनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन ११ बजेर ३६ मिनेटका टीकाको उत्तम साइत रहेको जनाएको छ।परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो।पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ ।सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो।

दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन नभएको पनि समितिले उल्लेख गरेको छ।

सुरुमा कुलदेवता,पितृदेवतालाई टीका चढाउने गरिन्छ।दुर्गा विसर्जनपछि कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता,कुलदेवतालाई सम्झेर जमरा काटिन्छ।दैलामाथि टीका लगाउने गरिन्छ।

 भए गुरुपुरोहितबाट,नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ।त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ।

कसैलाई हतारो भएमा,टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ। पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ।