आज विजया दशमी,मान्यजनबाट टीका,जमरा र आर्शिवाद ग्रहण गरि हर्षोल्लासका साथ मनाइँदै,टीकाको साइत ११ः३६ बजे

२६ असोज,काठमाडौं  बडादसैँ अर्थात् नवदुर्गा अर्थात दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरुप शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा र आर्शिवाद ग्रहण गरेर हर्षोल्लासका साथ मनाइँदै छ।

विजया दशमीमा दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा अर्चना गरिएको जमरा र टीका प्रसादका रुपमा मान्यजनबाट ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीका प्रसाद ग्रहणको उत्तम साइत आज बिहान ११ बजेर ३६ मिनेटको समय रहेको जनाएको छ।तर विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिको भनाई छ।

 समितिका अनुसार राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ।राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु,मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेको छ।साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको पनि समितिले उल्लेख गरेको छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाउने चलन छ।तर टीका लगाउनुपूर्व देवीलाई विसर्जन गर्न पर्ने र त्यसको लागि आज बिहान ८ः३३ बजेको रहेको समितिले जनाएको छ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।

विजया दशमीको सबैलाई शुभकामना ! सबैको भलो होस,सबैको जय होस,अनि माता दुर्गाभवानीको कृपा सदैव रहिरहोस् !!

शुभ विजयादशमी – २०८१ !