डलर साटिदिने भन्दै ९ लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

२९ कार्तिक,काठमाडौं ।अमेरिकन डलर साट्ने बहाना बनाई ९ लाख रूपैयाँ ठगी गरेको घटनामा संलग्न रहेको अभियोगमा मंगलबार प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा बस्ने २६ वर्षीय एक व्यक्ति र २४ वर्षीय अर्का व्यक्ति रहेका छन् ।उनीहरूले मेरिकन डलर साट्ने बहाना बनाई पीडितलाई भक्तपुर चाँगुनारायण नगरपालिका–३ मा बोलाई ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगी गरी फरार भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।