
३० कार्तिक,काठमाडौं। चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग सुरु भएको छ ।समारोहमा बिश्वका १०० भन्दा बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरुको सहभागिता छ ।
चिनियाँ कम्युनिष्ट पार्टी बिदेश विभागको आयोजनामा ग्लोबल साउथ देशहरुका समस्याहरुलाई सामुहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वब्यापी अभियानलाई थप सुदृढ बनाउने उद्धेश्यका साथ आयोजना भएको सो सम्मेलनमा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा नेपालका पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरलको नेतृत्वमा पन्ध्र सदस्यीय प्रतिनिधि मण्डलको समभागिता रहेको छ ।
“मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि” विषयक सत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपालका पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरु थप एकताबद्ध भएर सामुहिक हित र मानव समद्धिका लागि लाग्नुपर्ने धारणा प्रस्तुत गरेका छन् ।
कार्यक्रममा नेपालको विभिन्न प्राकृतिक श्रोतहरुलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरुले अध्ययन,अनुसन्धान तथा प्रचार गरेर सघाउन पनि आग्रह गरे ।
जनविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरुले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृृतिक श्रोतलाई ग्लोबल साउथका जनताहरुको समृद्धिका लागि उपयोग गर्न सकिने उनले बताए ।
उनले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीन लगायतका मित्रराष्टको महत्वपूर्ण सहयोग हुने आशा जाहेर गरे ।
समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागमा मन्त्री ल्यु च्याङ्गचाओ लगायत बिभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।
