आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै

११, मंसिर काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ ।

विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ ।

कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन् ।

सोमबारसम्म औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ सय १५, अनौपचारिक क्षेत्रका तीन सय सात र स्वरोजगार क्षेत्रका दुई सय २७ गरी १७ लाख ९७ हजार छ सय ४० श्रमिक कोषमा आबद्ध भएका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए।