चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम

११, मंसिर काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका शिक्षित युवालाई ‘डिजिटल’ सीप प्रदान गरी स्वदेशमा नै सूचना प्रविधिका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने नीति लिएको छ ।

सोही नीतिलाई कार्यान्वयन गर्न नगरपालिकाले पहिलोपटक सोमबारदेखि डिजिटल तालिम सुरुआत गरेको छ । नगरपालिकाले रोजगार सेवा केन्द्र समन्वयमा पहिलोपटक सञ्चालित सो तालिममा करिब ९० दिन सहभागीले आफूअनुकूल दैनिक तीन घण्टा सूचना प्रविधिका विभिन्न ११ आयाम ९मोलड०का बारेमा ज्ञान हासिल गर्नेछन् ।

स्किल ल्याब’को सहयोगमा सञ्चालित सो तालिममा नगरका १५ वटै वडाका ५० युवा सहभागी छन् । तालिमपछि सोही संस्थाले तालिमका सहभागीलाई रोजगारीका लागि विदेशी संस्थासँग समन्वय गरिदिने जनाइएको छ ।सीप र रोजगारीलाई जोड्ने सो तालिमपश्चात् सहभागीले स्वदेशमै बसेर सूचना प्रविधिसम्बन्धी काम गर्न सक्ने जनाइएको छ ।

पछिल्लो समय नगरपालिकाले युवालाई विभिन्न क्षेत्रमा स्वदेशमा नै रोजगारीका अवसर प्राप्त गर्न सक्ने वातावरण तयार गर्न आवश्यक सीप मूलक तालिम, प्रशिक्षण तथा अन्य कार्यक्रम उच्च प्राथमिकता दिँदै आएको छ ।

सोमबार आयोजित तालिमको शुभारम्भ गर्दै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लैजाने नीति नगरपालिकाको रहेको जानकारी दिए । उनले भने, “स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्न नगरपालिकाले युवा केन्द्रित कार्यक्रम, प्रशिक्षण तथा तालिम सञ्चालन गरिरहेको छ ।”