बादलले ढाके पनि वर्षा कम,आजदेखि सुधार हुने

काठमाडौँ । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।

पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । काठमाडौँमा हिजो साँझ सामान्य पानी परेको थियो । आज देखि भने मौसम सुधार हुँदै जाने मौसमविद् मिनकुमारअर्यालले बताए । उनका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ ।

बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू-भागमा बादल रहेको अर्यालले राससलाई बताए । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उनले बताए ।मौसमविद् अर्यालले भने, “खासै पानी परेको देखिँदैन । पश्चिमा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमपात र वर्षा हुने देखिएको छ । भोलिदेखि क्रमिक सुधार हुने देखिन्छ ।” बिहीबारसम्म खुल्ने र शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको पनि उनले बताए।

यो बदलीले देशैभरि चिसो भने बढाउने उनले बताए । “हिउँ परेको ठाउँबाट आउने हावाले चिसो बढाउने हो, जता हावा जान्छ उतै बढी चिसो हुन्छ”, अर्यालले भने ।उनले बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।