
१९, पुस काठमाडौं । आज राति अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा हुने भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ ।उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै वर्षा हुने नासोले जनाएको छ । नासोका अनुसार उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ।
‘आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ’, नासोले प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक पर्दैन ।’
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहररू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै उल्का वर्षा एवं चलनचल्तीको भाषाअनुसार ‘तारा खसेको’ भन्ने गरिन्छ ।
