महिला टी–२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश निःशुल्क

१६ माघ,काठमाडौं ।आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने महिला टी२०आई श्रृंखलाका खेलहरू हेर्न प्रवेश निःशुल्क गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल,नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित सबै खेलहरू निःशुल्क हेर्न सकिने प्रबन्ध मिलाएको हो ।क्यानले श्रृंखलाभर नेपाली महिला क्रिकेट टोलीलाई समर्थन गर्न आह्‍वान गर्दै टिकटबिना प्रवेश गर्न पाइने जनाएको छ ।

जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्नेछन् ।पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ ।

नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् ।भने, फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । यसैगरि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको जनाएको छ ।

टोलीमा कप्तान इन्दुसँगै पूर्वकप्तान रुबिना क्षेत्री,सीता रानामगर,पुजा महतो,अलिशा कुमारी यादव,बिन्दु रावल, सम्झना खड्का,कविता कुँवर,ममता चौधरी,कविता जोशी,रेवती धामी,रोमा थापा,राजमती ऐरी,मनिषा उपाध्याय र ईश्‍वरी विष्ट छन् ।