बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल

२४, माघ काठमाडौं। बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ ।

बूढानिलकण्ठ–३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बूढानिलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास र संस्कृतिविद्, विज्ञ, बुद्धिजीवी, लेखक, पत्रकार आदिको संलग्नतामा छलफल एवं अन्तरक्रिया गर्दै यसलाई निरन्तरता दिने भएको छ ।नगरपालिका कार्यालयले नारायणस्थानको इतिहास, किंवदन्ती एवं कला सम्पदालाई विशिष्ट ढङ्गबाट अन्वेषण गरी अभिलेख तयार गर्न पनि आरम्भ गरेको छ ।

कार्यक्रममा प्रा दिनेशराज पन्त, धर्मसंस्कृतिविद् डा।गोविन्द टण्डन, नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, साहित्यकार– लेखक– पत्रकार स्नेह सायमी, श्याम रिमाल र श्रीश भण्डारी, विज्ञ हरिवंश किरात र प्रा। विष्णु श्रेष्ठले युनेस्को सूचीमा सूचीकरण गर्न मन्दिरको वास्तुकला तथा मूर्तिको प्रस्तरकला उत्कृष्ट र विशिष्टीकृत हुनुपर्ने र त्यसको प्रमाण दिन सक्नुपर्ने बताए । सोका लागि विशेषगरी शिव, नारायण र बुद्धको संयुक्त रूपयुक्त मूर्ति, वरिपरिका पाटीपौवा, मन्दिर, धारा, शिलालेख र आसपासका बस्ती, गुम्बा, आश्रमहरूको समग्र गहन अध्ययन हुनुपर्नेमा जोड दिए ।