
२९, माघ काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवम् खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीबिच सवाल–जवाफ भएको छ ।
बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको ‘लोडसेडिङ’को पनि भूमिका रहेको बताएपछि माओवादी सांसद अछामीले बिचैमा प्रतिवाद गर्दै सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहस गर्न आग्रह गरे।
सांसद अछामीले भने “माननीयमन्त्रीज्यू, यो बहस यहाँ गर्ने होइन, त्यो बहस ऊर्जा मन्त्रालयमा गर्ने हो, हामीसँग यहाँ गर्नुपर्ने नै होइन ।” मन्त्री भण्डारीले उद्योगमा लोडसेडिङ छ, छैन भन्ने कुराको पनि तथ्यमा हेर्नुपर्ने बताए ।
“अब लोडसेडिङ छैन भन्नुहुन्छ, विद्युत् प्राधिकरणले ‘सेड्युल’ दिएको छ, बोलाउनु न प्राधिकरणलाई म त आग्रह गरिहेको छु समिति सभापतिलाई”, लोडसेडिङको तालिका हेर्न सुझाउँदै उनले भने, “यो मूल्यवृद्धि भएका बेलामा लोडसेडिङ कति भयो त्यसको सेड्युल हेरौँ न, कसैले लोडसेडिङ छ भन्ने कसैले छैन भन्ने हामीले गरिराख्नुपर्छ र रु”
सांसद अछामीले “त्यो कुरा हाम्रो सरोकारको कुरा भएन, त्यो त्यही मन्त्रालयसँग गर्नुस”, भन्नुभयो । मन्त्री भण्डारीले सरकारको निकाय विद्युत् प्राधिकरण भएकाले छलफल हुनुपर्ने उल्लेख गरे। सांसद अछामीले भने, “महँगी नियन्त्रण हुनुपर्यो, उद्योग मन्त्रालयको ध्यान त्यहाँ पुग्नुपर्यो भन्ने मात्रै हाम्रो कुरा हो ।”
नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले मूल्य बढाउनुमा सांसदको भूमिका हो भनी प्रश्न गरे । सो प्रश्नमा उद्योगमन्त्रीले ‘छैन’ भन्ने जवाफ दिएपछि सांसद गैरेले प्रस्ताव गरे “छैन, भने चै जसको हो त्यहीँनेर छलफल गरौँ न त ।”
मन्त्री र सांसदबिच सवाल–जवाफ भएपछि समिति सभापति सोनामगेल्जेन शेर्पाले ‘हस्तक्षेप’ गरी ‘यसलाई यही थाती राखौैँ’ भनी प्रस्ताव गरे । समयको अभाव भएको भन्दै सभापति शेर्पाले विषय केन्द्रित धारणा राख्न मन्त्रीलाई निर्देश गरे ।
