
सीता पौडेल(अर्चना)
४ फागुन,काठमाडौं । समाजसेवी एवम् साहित्यकार हर्क याक्सोको ‘पैतालाका डोबहरु’ शीर्षकको आत्मकथा विमोचन भएको छ ।

शनिबार विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमकाबीच उनको उक्त पुस्तकको प्रमुख अतिथि एवमं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.विष्णुविभू घिमिरे,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाइँ लगायत कार्यक्रममा उपस्थित विशिष्ठ अतिथिहरुले विमोचन गरेका थिए।


२ सय ८८ पृष्ठ लामो सो पुस्तकमा लेखकले नेपालको सामाजिक,राजनीतिक तथा शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई उजागर गर्दै जीवन जगतका उद्गारहरु अनि आत्माका स्वीकारोक्तिहरु उल्लेख गरेको विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवम् पुस्तकका टिप्पणीकर्ता गोपीकृष्ण प्रसाइँले बताए ।साथै लेखकले जीवनमा भोगेका उतार–चढाबहरु र संघर्षका कथाहरु पुस्तकबाट सबैमाझ साझा गर्न चाहेको पनि अध्यक्ष प्रसाइँले बताए ।

ताप्लेजुङको अठराई हाङपाङमा जन्मिएका ७३ वर्षीया याक्सोका यसअघि ३ वटा सृजनाहरु सार्वजनिक भइसकेको र यो चौथो सृजना भएको पनि उनले बताए ।अध्यक्ष प्रसाइँका अनुसार याक्सोका यसअघि मुन्धुमी लोक कथाहरु,नेपालका प्रमुख धर्महरु र जीवन एक परिभाषा अनेक निबन्ध संग्रह प्रकाशित भइसकेका छन् ।साथै आर्थिक,सामाजिक,राजनीतिक उतार चढाबले जर्जर भएको नेपाली समाजको यथार्थ चित्रण सो पुस्तक मार्फत गरिएको पनि उनले स्पष्ट पारे ।


पुस्तकको विमोचन पश्चात सो प्रतिष्ठानको आयोजनामा भएको ‘हर्क याक्सोको ‘पैतालाका डोबहरु,आत्मकथा विमोचन,श्रष्टा सम्मान तथा कवि गोष्ठी सो कार्यक्रममा प्रमुख अतिथि एवम् पूर्व उपकुलपति डा. घिमिरेले साहित्य र साहित्यकारका रचनाहरुले समाजिक,विकृति,विसंगति र कुरितिसँगै समाजका भ्रमहरुलाई चर्ने महत्वपूर्ण भूमिका खेलिरहेको जिकिर गरे ।

साथै उनले पछिल्लो समय विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकका कारण पनि पहिला राणा वा राजाहरुका पालामा जस्तो कतै सेन्सरसिप लाग्छ की,जेल जानु पर्छ की भनेर डराई डराई लेख्नु परेको तर पछिल्लो समय हाम्रो संविधानप्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्तत्राका कारण निर्धक्क भएर सामाजिक विसंगतिका विरुद्ध लेख्न बोल्न पाएको भन्दै लेखकका सृजनामा देश,सामाज र राष्ट्रको यथार्थ चित्रण गर्नुपर्ने बताए।

उनले मानिसको जीवनमा धीरताले समेत उत्तिकै अर्थराख्ने भन्दै कुनै कुनै सृजनामा लागिरहन सबै साहित्य अनुरागीहरुलाई आग्रह गरे।भने,नेपालीभाषा,साहित्य र संस्कृतिको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले खेलेको भूमिकाको मुक्त कण्ठले प्रसंसा गरे।
यस्तै कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्व सभासद नन्द कुमार प्रसाईँ,पूर्व राष्ट्रिय पं.स. दीर्घराज प्रसाइँ लगायतले लेखक हर्क याक्सोको उक्त आत्मकथा केबल उनको आत्मकथा मात्र नभएर सबै नेपालीको आत्मकथा भएको र यसको अध्ययनबाट पाठकले नेपालको राष्ट्रिय राजनीतिक परिवेश,गति र कार्यदिशा,सामाजिक,आर्थिक स्थिति र मानवीय संघर्षलाई सजिलोसँग बुझ्न मद्दत पुग्ने जिकिर गरे।

आफ्नो कृति विमोचन पश्चात खुशी व्यक्त गर्दै साहित्यकार याक्सोले हरेक सृजना जीवनका उतारचढाव र संघर्षबाट सिर्जित हुने भन्दै आफ्ना जीवनका भोगाईहरु र साहित्यिक यात्राको बेलीविस्तार लगाए।साथै उनले घर,परिवार र अग्रजहरुको साथ,सहयोग र समर्थनमा आफैं कमाउँदै,पढ्दै एम. ए. सम्मको अध्ययन गरेका साहित्यकार याक्सोले मानिसले दुःखमा नआत्तिने र सुखमा नमात्तिइकन निरन्तर कर्ममा लाग्नु पर्ने बताए ।

साहित्यकारहरु,नरेन्द्र बहादुर श्रेष्ठ,गोपी कृष्ण प्रसाइँ,लक्ष्मी उप्रेती,राधेश्याम लेकाली, बालिका गिरी,अभिकेशर ओली,राधिका दाहाल,चन्द्रमादेन आन्छन्,डिवि पालुवा,कल्पना प्रसाइँँ पाठक,राज रजक,रश्मी रिमाल,जीवन श्रेष्ठ,तेजेन्द्र कुमार प्रसाइँ,सीतामाया पौडेललगायतका कविहरुले कार्यक्रममा रचना वाचन गरेका थिए।
कविहरुले निकै सरल भाषाशैलीमा अनेक बिम्ब र प्रतिकहरुको प्रयोग गरेर कवितामार्फत सामाजिक विकृति,विसंगति र कुरीतिप्रति व्यङग्य गरेका थिए ।भने सामाजिक र राजनीतिक परिवेशलाई चित्रण गरेका थिए ।

सो कार्यक्रममा प्रतिष्ठानले साहित्यकारद्धय दिलिप कुमार ढकाल र खेमराज निरौलालाई खादा,माला र कदरपत्रले सम्मान गरेको थियो ।कर्यक्रममा प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित सष्टा द्धय खेमराज निरौला र दिलिप कुमार ढकालको संक्षिप्त परिचय प्रस्तुत गर्दै साहित्यकार द्धयले नेपाली भाषा र साहित्यको क्षेत्रमा पु¥याउँदै आएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको स्पष्ट पारिन् । 
कार्यक्रममा पूर्व मन्त्री हरिप्रसाद न्यौपाने,पूर्व सभासद नन्द कुमार प्रसाइँ,पूर्व राजदूत प्रल्हाद कुमार प्रसाइँ,विराटनगर महानगरपालिकाका पूर्व मेयर ध्रुवनारायण श्रेष्ठ,प्रा.डा.फडिन्द्रराज निरौला,गोर्खापत्र संस्थानका पूर्व महाप्रबन्धक भरतकुमार प्रसाइँ,भानु उच्च मावी ताप्लेजुङका पूर्व प्रधानध्यापक तुलाराम गुरुङको उपस्थिति रहेको थियो।


त्यस्तै मदन पुुरस्कार विजेता लेखक भगीराज इंग्नाम,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष तेजेन्द्र प्रसाइँ,सल्लाहकार किशोर उप्रेती,प्रा.डा.कुलराज निरौला,प्रा.डा.छायादत्त न्यौपाने,लगायत विभिन्न संघसंस्थाका बुद्धिजिवी तथा साहित्यप्रेमीहरु, प्रतिष्ठानका अन्य पदाधिकारी तथा सदस्यहरु,विभिन्न मिडियाका पत्रकारहरु लगायतका साहित्य अनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रमको पत्रकार एवम् साहित्यकार सीताा पौडेल (अर्चना) ले सञ्चालन गरेकी थिइन् ।



