
११, फागुन दाङ । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु) को खेती गर्दै आएका छन्। आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनले विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् ।
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उनको भनाइ छ । सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका उनले वार्षिक रूपमा रु १४ लाख बराबरको कारोबार गर्न सफल भएका छन् ।
दाङमै स्ट्रबेरी प्रतिकिलो रु आठ सयका दरले बिक्री हुने गरेको छ । उनले बारीबाटै दैनिक २०–२५ किलोसम्मको बिक्री गर्दै आएका छन्भने आजभोलि फार्म छेउमै महोत्सव लागेका कारण झन् माग बढेर दैनिक ५० किलोसम्म बिक्री गर्दै आएको उनको भनाइ छ । यस वर्षको हालसम्म रु चार लाख बढीको बिक्री गरिसकेको उनी बताउछन् ।
किसान खड्काले भने, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।” उनले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आएका छन् । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उनले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्छन् भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिकखेती गर्दै आएका छन् ।
