राष्ट्रिय एकता बचाउन सामाजिक सञ्जालको नियमन आवश्यक : मन्त्री गुरुङ

१२, फागुन काठमाडों । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव बचाउन सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताएका छन् ।।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सोमबार ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तिक्रिया कार्यक्रमा मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमन सम्बन्धी बन्न लागेको विधेयक कुनै मिडिया र अनलाइन माध्यम बन्द गर्न नभई सामाजिक सञ्जालमा जथाभावी समाज र राष्ट्र विरोधी अभिव्यक्तिलाई नियमन गर्न खोजिएको प्रष्ट पारे ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले दहि जस्तै जमेर बसेको समाजमा सामाजिक सञ्जालमा पोखिने अराजक अभिव्यक्तिहरू लोकतन्त्र विरोधी रहेको बताउँदै अहिलेको सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षधर रहेको सुनाए । “हामी विधेयक मार्फत सामाजिक सञ्जाल दुरुपयोग गर्ने र लोकतन्त्रमा दख्खल दिनेहरूलाई नियमन गर्न खोजेका हौँ, न कि कुनै मिडिया, पत्रकार र नागरिकको आवाज बन्द गर्ने मनसायमा छैनौँ ।”

राष्ट्रिय सभामा छलफलको क्रममा रहेको उक्त विधेयक उपर नेपाल पत्रकार महासङ्घ र सम्बन्धित सरोकारवालाले सांसदहरूलाई आवश्यक दफावार संशोधन गर्न सुझाव दिन सक्ने आग्रह समेत मन्त्री गुरुङले गरे ।