
१५, फागुन काठमाडौं । काठमाडौंमा डिजिटल अपराध नियन्त्रण सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।
महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्,’डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ। यसले देशकै अर्थतन्त्रमा असर गर्छ।’
डिजिटलको माध्यमबाट हुने अपराधहरूको मुद्दा अहिले अदालतमा बढ्न थालेको र यसका लागि विभिन्न सामाजिक सञ्जालहरू स्वदेशको कानुनमा आधारित रहेर दर्ता हुन जरूरी रहेको उनको भनाइ थियो ।
यस्तै बेलायतकी सरकारी वकिल सेहनाज मुसरफले महिलामाथि हुने हिंसाहरू अब सामाजिक सञ्जालमा छरपस्ट भइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘अपराधिक गतिविधिहरू अहिले सामाजिक सञ्जालमा महिलाहरूलाई लक्षित गरेर बढिरहेको छ। यसबारेमा सबैले कूटनीतिक तरिकाले समाधानको बाटोमा लाग्नुपर्छ।’उनले भनिन् ।
