
१५,फागुन काठमाडौं । सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने गरेको पाइएको छ ।
कानुन अनुसार कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा बन्देज छ । फागुन १५ गते सम्पन्न हुने साहित्य महोत्सवमा सुर्तीजन्य कम्पनी सूर्य नेपाल प्रालिले प्रायोजन गरेको छ । सुर्तीजन्य कम्पनीले साहित्यिक कार्यक्रम प्रायोजन गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्सव,मेला तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानुनविपरीत हुने बताएको छ । मन्त्रालयले यसरी जुनसुकै कार्यक्रममा सुर्तीजन्य कम्पनी संलग्न भए कानुनबमोजिम कारबाही गर्ने प्रस्ट पारेको छ ।
उक्त साहित्यिक महोत्सवमा नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रायोजक भएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएको हो । उक्त साहित्यिक महोत्सवको अघिल्लो वर्ष टाइटल प्रायोजन गरेको सूर्य नेपालले यस पटक ‘इभिनिङ म्युजिकल सेसन’ को प्रायोजन गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएकाले कानुनविपरीत कार्य गर्नेलाई कारबाही गर्ने बताए।
सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ नियमावली र निर्देशिकासमेत जारी भइसकेको अवस्थामा कार्यक्रमको प्रायोजन गर्नु कानुनविपरीत भएको उनको भनाइ छ ।
