
२१, फागुन काठमाडौं । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस हातहतियारको होडबाजी र निस्शस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेष गरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरूकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ ।
संयुक्त राष्ट्रसंघ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो । आमविनाशकारी हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षाका साथै दिगो विकासका लक्ष्य हासिलमा गम्भीर असर पार्ने भएकाले अन्तर्राष्ट्रिय समुदायले विश्वशान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेका छन् ।
यो दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेचबिखन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रसंघको विश्वास छ । निःशस्त्रीकरण मामिलाका लागि राष्ट्रसंघीय कार्यालय ९युएनओडिए०को आह्वानमा मनाइने यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुट रेसले निःशस्त्रीकरण र अप्रसार शान्तिका निम्ति भएको लगानी हो भन्दै त्यसबाट विश्व समुदायको भविष्यका लागि पनि लगानी भएको बताएका छन् ।
