‘हिमतालको संरक्षणका लागि बजेट विनियोजन गर्नुपर्छ’

४, चैत काठमाडों । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताएका छन् । ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । यसका लागि आवश्यक प्रवन्ध मिलाउन सचिवहरुलाई निर्देशन दिए । उनले हिमताल फुटेपछि विकराल समस्या आउने भन्दै यसमा समयमै ध्यान दिनुपर्ने बताए । उनले यिनै समस्या समाधानका लागि सरकारले संसदबाट जलश्रोत विधेयक चाँडै पारित गर्ने तयारी गरेको बताए ।

जलवायु परिवर्तनका असर न्युनिकरण गर्दै जलश्रोतको दिगो उपयोगका लागि अन्तर्राष्ट्रिय साझेदारीलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए । जल तथा मौसम विज्ञानसँग सम्बन्धित अनुसन्धान संस्थाहरुसँग सहकार्य गरी नेपालका जलश्रोतको दिगो व्यवस्थापन विकासका लागि सुनिश्चित गर्ने जिकिर गरे ।

मन्त्री खड्काले भने, ‘यस पटक बजेटमा समावेश गरेर हिमतालहरुको संरक्षण गर्न आवश्यक छ । यस पटक बजेट निर्माण गर्दा सचिवज्युहरुले ध्यान दिनुहोला । यसका जोखिमबाट उत्पन्न हुने समस्या विकराल हुन्छ । थामेलगायतका स्थानमा हामीले हिमताल फुटेर भएको क्षति हेरिसकेका छौँ । सबै हिमतालहरु जोखिममा नै छन् । भरपर्दो स्ट्रक्चर हिउँ नै हो ।

यो फुटिसकेपछि आयोजनामा क्षति मात्र हुने होइन, मानवीय क्षति पनि त्यत्तिकै बढ्छ । त्यसैले दोहोरो, तेहोरो चपेटामा आज नेपाल छ । यसलाई जोगाउने, संरक्षण गर्ने, सबै देशलाई आह्वान गर्ने नेपालको दायित्व बनेको छ । कारण नेपाल होइन, ठूला र विकसित राष्ट्र हुन् । गम्भीर रुपमा लिएर हामीले अहिले जलस्रोत विधेयक चाँडै पारित गर्दैछौँ ।’ मन्त्री खड्काले जलश्रोतको संरक्षण तथा मौसम परिवर्तनको प्रभाव न्युनिकरण गर्न दीर्घकालीन नीति निर्माण हुनु आजको अपरिहार्य आवश्यकता भएको बताए ।