समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री ओली

१२, चैत काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागि परेको बताएका छन् ।

आज ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरु सपना साकार पार्न नदिन लागि परेको उल्लेख गरेका हुन् ।

उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरु कसरी आफू बच्ने र सरकार र अरुलाई बद्नाम गर्ने भन्नेमा लागेको बताए ।

देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा आफ्नो ध्यान रहने उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले भन्नुभयो, ूहामीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने सङ्कल्प बोकेका छौँ । हामीले देशको विकास गर्नुपर्नेछ ।

अनावश्यक कुरामा हामीलाई अल्झाउन खोज्छन्, हाम्रो ध्यान डाइभर्ट गर्न खोज्छन् । हामी आफ्ना विषयमा, आफ्ना काममा केन्द्रित हुन्छौँ । र आफ्ना देश विकासका लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी र छिटो कार्यान्वयन गर्ने भन्नेकुरामा हाम्रो ध्यान छ ।