संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा

१०, जेठ काठमाडौं । जेठ ११ र १२ गते सात वटै प्रदेशमा आयोजना हुने “संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी” विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरू आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गरेका छन् ।

छलफलमा संघीयता कार्यान्वयन, वित्तीय संघीयता, सार्वजनिक सेवा र विकासका बारेमा विचार विमर्श हुने संसद् सचिवालयले जनाएको छ । कोशी प्रदेशमा हुने छलफलको संयोजन कृष्णप्रसाद सिटौला, मधेसमा मोहम्मद खालिद र बागमती प्रदेशमा गंगाकुमारी बेलबासेले गर्नेछन् ।

यसैगरी, गण्डकी प्रदेशका लागि कमलादेवी पन्त, लुम्बिनीका लागि गोपाल भट्टराई, कर्णालीमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशका लागि मदनकुमारी शाहलाई संयोजकको जिम्मेवारी तोकिएको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सम्बन्धित प्रदेशबाट निर्वाचित राष्ट्रियसभाका सबै सदस्य छलफलमा सहभागी हुनेछ ।