
११, जेठ काठमाडौं । प्रस्तावित निजामती सेवा विधेयकमा रहेका केही व्यवस्थाप्रति असहमति जनाउँदै निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा र अन्य प्रावधानमा असन्तुष्टि व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध गरेका हुन् ।
निजामती कर्मचारी युनियनका प्रतिनिधिहरूले विधेयकमा कर्मचारीहरूको वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवामा अस्पष्टता रहेको र सेवा सुविधा कटौती गर्ने प्रावधान राखिएको भन्दै विरोधमा उत्रिएको बताए ।
नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले पाँच वर्ष काम गरेको कर्मचारीको एक तह र दश वर्ष काम गरेको कर्मचारीको एक श्रेणी बढुवा हुनुपर्ने, शाखा अधिकृतले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने, कर्मचारीको अन्तर प्रदेश सरुवा हुनुपर्ने लगायतका मागहरू कर्मचारीले अघि सारेका छन् ।
