
१५,जेठ काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्ममा मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर पुगेको छ ।
“विक्रम संवत् २०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १६३ किलोमिटर कालोपत्र, आठ हजार २०४ किलोमिटर खण्डास्मित र आठ हजार ७६५ किलोमिटर कच्ची सडक पुगेको छ,” सर्वेक्षणमा उल्लेख छ, “२०८१ असारसम्म १८ हजार ८०८ किलोमिटर कालोपत्र आठ हजार २४ किलोमिटर खण्डास्मित र आठ हजार ६५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार ४९० किलोमिटर रहेको थियो ।
” सर्वेक्षणअनुसार मध्यपहाडी लोक मार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार ४५२ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आर्थिक वर्षको फागुनसम्म थप ११ किलोमिटर सडक कालोपत्र भई एक हजार ४६३ किलोमिटर पुगेको छ । लोक मार्गमा पर्ने १३७ पुलमध्ये २०८१ फागुनसम्म १०७ पुलको निर्माणसम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।
सर्वेक्षणअनुसार हुलाकी लोक मार्गको कुल लम्बाइ एक हजार ८५७ किलोमिटरमध्ये २०८१ असारसम्म एक हजार २५९ किलोमिटर कालोपत्र सम्पन्न भएकामा चालु आवको फागुनसम्म थप ३२ किलोमिटर सडक कालोपत्र भई एक हजार २९१ किलोमिटर पुगेको छ । यसअन्तर्गतका २५० पुलमध्ये २०८१ फागुनसम्म १४२ पुलको निर्माणसम्पन्न भएको छ ।
