
२२, जेठ काठमाडौं । तारकेश्वर नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न हाम्रो दायित्व” भन्ने नारा सहित विशेष वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना ब्रलाकोटी, सम्पूर्ण वडा अध्यक्ष तथा सचिवहरू, तारकेश्वर वातावरण शाखाका प्रमुख, स्थानीय संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता थिए
।
कार्यक्रम अन्तर्गत धर्मस्थल परिसर र आसपासका क्षेत्रमा विभिन्न प्रजातिका रूखहरू रोपिएका छन्, जसले वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, प्लास्टिक तथा अन्य कचराहरूको व्यवस्थित सरसफाई गरी क्षेत्रलाई स्वच्छ बनाइएको छ ।
कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जनले “यस प्रकारका सामुदायिक पहलहरूले न केवल वातावरण संरक्षणमा योगदान पुर्याउँछ, तर स्थानीयस्तरमा जनचेतना पनि बढाउँछ” भन्दै सबैले यसलाई निरन्तरता दिन आह्वान गरे। उनले नगरपालिकाले पर्यावरणमैत्री नीतिहरू अगाडि बढाउने र स्थानीय नागरिकहरूसँग मिलेर कार्य गर्ने प्रतिबद्धता दिए ।
त्यस्तै उपप्रमुख सृजना ब्रलाकोटीले “सिंगल(यूज प्लास्टिकको प्रयोग घटाउन सबैले व्यक्तिगत प्रयास गर्नुपर्छ” भन्ने जोड दिइन् । तारकेश्वर वातावरण शाखाका प्रमुखले पनि भविष्यमा यस्ता अभियानहरू नियमित रूपमा आयोजना गर्ने योजना रहेको बताए ।
