
२५, जेठ काठमाडौं । काभ्रेस्थित पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल (यही जेठ २६ देखि २८गतेसम्म) हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ । यहाँका वुढापाकाहरु ‘जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने मान्यता राख्दछन् । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हुरीबतास चल्छ, अनि वर्षा सुरु हुने मान्यता समेत रहेको छ ।
यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको यहाँका स्थानीयवासीसँग अनुभव पनि छ । स्थानीय बुढापाकाको भनाइमा जिल्लाको पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । जात्रा सोमबारदेखि सुरु हुँदैछ । अहिले यसको तयारी चलिरहेको छ ।
जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको हो । किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको मानिँदै आइएको स्थानीय विकुनारायण ताम्राकार बताउछन् ।
करिब पचास मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ ।
यस्तै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्छ ।
्र
