अमेरिकाबाट डिपोर्ट भएका ४० भन्दा बढी नेपाली चार्टर्ड विमानबाट आज काठमाडौं आउँदै

२५, जेठ काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ४० जनाभन्दा बढी नेपाली आजै चार्टर्ड विमानमार्फत काठमाडौं आउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उनीहरु सवार विमान आइतबार अपराह्न ४स्१५ बजे अवतरण गर्ने तालिका रहेको छ।

विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आउने पुष्टि गरे पनि सङ्ख्या भने यकिन नभएको बताए। “हामीलाई १०–१२ दिनअघि नै नेपालीहरु डिपोर्ट हुनेबारे जानकारी आएको थियो, तर सङ्ख्या यकिन थिएन,” न्यौपानेले भने, “विमान अवतरणपछि मात्रै यकिन सङ्ख्या थाहा हुन्छ।”

अध्यागमन स्रोतका अनुसार डिपोर्ट हुने नेपालीको सङ्ख्या ४० भन्दा बढी हुन सक्ने अनुमान छ। सुरुमा ४८ जनालाई डिपोर्ट गर्ने तयारी भए पनि केहीको प्रक्रिया रोकिएकाले सङ्ख्या घट्न सक्ने बताइएको छ। अमेरिकाले चार्टर्ड गरेको उक्त विमानले डिपोर्ट गरिएका विभिन्न देशका नागरिकलाई सम्बन्धित देशमा पुर्‍याउँदै काठमाडौं आउने र फर्किनेछ।

डोनाल्ड ट्रम्पको कार्यकालदेखि नै अमेरिकाले आप्रवासीमाथि कडाइ गर्दै आएको छ। भिसा अवधि सकिएका, गैरकानुनी रुपमा बसोबास गर्ने, र आपराधिक गतिविधिमा संलग्नलाई अमेरिकाले डिपोर्ट गर्ने गरेको छ।

यस पटक डिपोर्ट गरिएका नेपालीहरुलाई के कारणले फिर्ता पठाइएको हो भन्ने स्पष्ट जानकारी भने नआएको प्रवक्ता न्यौपानेले बताए। “अमेरिकी इमिग्रेसन कानुन उल्लंघन गरेको भन्ने मात्रै जानकारी आएको छ। ” उनले भने।

विगतका वर्षहरुमा पनि नेपालीहरु डिपोर्ट हुने क्रम जारी थियो। सन् २०२१ मा ३५, २०२२ मा २२, २०२३ मा २४ र २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछपछि घर जान दिने गरेको छ।