कर्मचारीहरूद्वारा कालो पट्टी बाँधेर आज पनि धर्ना

२६, जेठ काठमाडौं । कर्मचारी ट्रेड युनियनहरूले आज पनि देशभरका कार्यालयहरूमा कालो पट्टी बाँधेर धर्नालाई निरन्तरता दिएका छन् । आइतवारदेखि दोस्रो चरणको आन्दोलन स्वरूप कालोपट्टि बाँधेर धर्ना दिन शुरु गरेका थिए ।

विधेयकको मस्यौदा संसदमा दर्ता नहुँदासम्म कालो पट्टी बाँधेर विरोध जारी राख्ने र दर्ता भएपछि थप कार्यक्रम तय गर्ने कर्मचारीहरूले बताउँदै आएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित उक्त विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नभएको भन्दै ट्रेड युनियनहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।

उनीहरूको मागमा सेवा अवधिका आधारमा एक तह वृद्धिको समयसीमा ७ वर्षबाट घटाएर ५ वर्ष कायम गर्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एक पटक समायोजन छनोटको अवसर दिनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने र तीनै तहका कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने लगायतका बुँदा समावेश छन् ।