सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीन महिने अभियान सुरु

२६, जेठ काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ ।

यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म चल्नेछ । आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा सङ्गठन निर्माण र सदस्यता वितरण गर्ने अभियानको उद्देश्य रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए ।

अभियानका क्रममा एक एकाइ एक प्रशिक्षण, जनपरिचालन, प्रत्येक सदस्य सङ्गठित सदस्य र हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालयलगायत कार्यक्रम सञ्चालन गरिनेछ । अभियान अवधिभर नयाँ सदस्यता र नवीकरणसहित पाँच लाख सदस्यता वितरण गर्ने उद्देश्य रहेको उपाध्यक्ष ढकालले जानकारी दिए ।