ट्राफिक जनचेतना जगाउँदै ट्राफिक सप्ताह

२८, पर्सा । पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्ताह मनाएको हो ।

कार्यालयले चोक-चोकमा र विद्यालय-विद्यालयमा पुगेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको छ । ट्राफिक सप्ताहको समापनमा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ट्राफिक जनचेतनामूलक कार्यक्रम एक दिन मात्रै नभएर ३६५ दिन आवश्यक रहेको बताए । “ट्राफिक नियम पालना गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै होइन”, उनले भने, “ट्राफिक नियमको पालना सामूहिक रूपमा गरेर अघि बढेको खण्डमा प्रभावकारी हुन्छ ।”

नगरप्रमुख सिंहले एक अर्को निकायलाई दोषारोपण गर्नेभन्दा सामूहिक रूपमा ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने बताए । महानगरका उपप्रमुख इम्तियाज आलमले ट्राफिक नियम सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि पालना गर्नुपर्ने बताए । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपालमा सवारी दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने भएकाले ट्राफिक नियमको पालना कडाइपूर्वक गर्नुपर्ने बताए ।