माबिलुङ इनर्जीको आईपीओ साउन २६ देखि खुल्ने तयारी

१९ साउन,काठमाडौं ।माबिलुङ इनर्जीले साउन २६ देखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जुन जारी पूँजीको ४८.९९ प्रतिशत हो ।वैदेशिक रोजगारमा रहेका,आयोजना प्रभावित तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो ।

सर्वसाधारणले न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । यसका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ

कम्पनीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवाखोला– ३  मा ४.९५ मेगावाट क्षमताको आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ५ पैसा छ । यसमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.४३ वर्ष रहेको छ ।