बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन बन्दैन : मन्त्री चौरसिया

१९ साउन,काठमाडौं । कानून,न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइने बताएका छन्।
नेपाल महिला संघले मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उनले स्पष्ट पारे।

साथै उनले यसमा पुरुष वा महिला जो कोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको जिकिर गरे।
उनले आफ्ना पनि घरमा छोरीहरू रहेको भन्दै महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने प्रतिवद्धता जनाए।

शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ। गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि उनले बताए।

कानुनको मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार भइनसकेको पनि उनले बताए ।उनले गलत प्रचार नगर्ने समेत आग्रह गरे ।