
१९ साउन,नयाँ दिल्ली।भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’ मा रहेको समयमा उक्त घटना भएको हो ।
उनले आफ्नो घाँटीबाट सिक्री तानेर लुटेराले लगेको बताएकी छन् ।लुटेरा स्कुटरमा आएको र उसले हेलमेटले अनुहार ढाकेका कारण आफूले पहिचान गर्न नसकेको उनको भनाइ छ।
प्रतिकारका क्रममा आफूलाई विभिन्न ठाउँमा चोटसमेत लागेको पनि उनले उल्लेख गरेकी छिन् ।
घटना लगत्तै उनले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर जानकारी गराएकी छन् ।उनले चाणक्यपुरीजस्तो दिल्लीको सुरक्षित क्षेत्रमा एक महिला सांसदमाथि यसप्रकारको घटना हुन्छ भने महिलाहरू कहाँ सुरक्षित हुन सक्छन् भनेर प्रश्नसमेत गरेकी छन्।
दिल्ली प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ।समाचार स्रोत ः एजेन्सी
