कपिलवस्तु कांग्रेसमा लफडा,पार्टी कार्यालय तोडफोड

१७ भदौ,रुपन्देही ।नेपाली कांग्रेस कपिलवस्तुमा पूर्व एसएसपी विक्रम सिंह थापामाथि कारबाहीको विषयलाई लिएर लफडा सुरु भएको छ ।

कारबाही भएको विषय मिडियामा सार्वजनिक भएपछि मंगलबार थापा निकट कार्यकर्ताहरुले नेपाली काँग्रेस कपिलवस्तु कार्यालयमा तोडफोड र तालाबन्दी गरेका छन् ।

नेता थापालाई लुम्बिनी प्रदेश पार्टीले कारबाही गर्दै लुम्बिनी प्रदेश कमिटी सदस्यबाट पदमुक्तसमेत गरेको छ । शेखर कोइराला निकट उनका पक्षधर कार्यकर्ताले तौलिहवास्थित पार्टी कार्यालयमा तोडफोड गरेका हुन् ।

जिल्ला नेता अनुपकुमार पाण्डेयको नेतृत्वमा पुगेको करिब ४० जनाको समूहले कार्यालयभित्रका कुर्सी तोडफोड गर्दै मूल गेटमा तालाबन्दी गरेको जनाइएको छ । पार्टी जिल्ला सचिव प्रेम रायमाझीका अनुसार कार्यालयभित्रका १३ वटा कुर्सी तोडफोड भएको छ ।

थापालाई साउन ११ गते कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले कारबाहीको पत्र पठाएको भएपनि सो पत्र भदौ १५ गते १ महिनामा बल्ल सार्वजनिक भएको थियो।