नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

२६ भदौ, काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ ।

जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने सम्भावना छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल हुने बताएका छन् । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे ।

नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए ।

हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका छन् ।

जेनजी युवाहरुले भर्चुअल माध्यमबाट व्यक्त गरेको मतमा सुशीला कार्कीको नाममा धेरैको समर्थन देखिएको थियो ।

कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गरिदिन जेनजीले राखेको प्रस्ताव स्वीकार गरिसकेको भन्दै भारतीय टेलीभिजनहरुमा समेत आफ्नो घारणा प्रष्ट पारी सकेकी छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । जेनजीहरुको माग अनुसार नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।