
५ असोज,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।योसँगै अब आमाको नामबाट नागरिकता जारी हुनसक्ने गरी ऐन बनेको छ ।
विघटित प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब आमाले स्वघोषणा गरेपछि सन्तानले सहजै नागरिकता प्राप्त गर्न सक्ने बताए ।
आमाको नामबाट नागरिकता पाउने कानुनी व्यवस्था नेपालको संविधान २०७२ ले आमाको नामबाट समेत नागरिकता जारी हुनसक्ने भनेको छ । तर आजसम्म व्यवहारमा लागु हुन सकिरहेको थिएन।‘‘अब आमाले स्वघोषणा गरेपछि सन्तानले सहजै नागरिकता पाउँछन् । यो नेपालको इतिहासमा ऐतिहासिक र महत्वपूर्ण काम हो।’
यसका साथै नयाँ ऐनअनुसार अब कुनै पनि नेपाली आमाबाट जन्मेका सन्तानहरू नागरिकताबाट बञ्चित हुने छैनन् ।उनी थप्छन्, ‘कोही पनि नेपाली नागरिक नागरिकताविहीन बन्नु पर्दैन ।’
बाबु पत्ता नलागेको वा अन्य कारण देखाएर नेपाली आमाबाट जन्मिएका सन्तानले नागरिकता प्राप्त गर्न नसक्ने अवस्थालाई चिर्दै नयाँ ऐनले आमालाई सन्तानको पूर्ण अधिकार दिएको छ।
