
८ असोज, काठमाडौं । नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउन करिब डेढ महिनाजतिको समय पाउने भएका छन् ।
निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सुरु हुनुअघिसम्म मतदाता नामावली संकलनको काम खुला राख्ने तयारी गरेको हो ।सामान्यतः मतदानको १२० दिन अर्थात चार महिना अघिदेखि निर्वाचन कार्यक्रम सुरु हुन्छ ।
‘करिब(करिब २१ कार्तिकसम्म मतदाता नामावली संकलन गर्न सकिन्छ कि भनेर आयोगमा छलफल चलिरहेको छ, त्यही सेरोफेरोको मिति राखेर सूचना निकाल्ने तयारी छ,’ आयोगका एक कर्मचारीले भने, ‘सम्भवतः बिहीबारदेखि नै मतदाता नामावली संकलन खुला गर्न सकिन्छ ।’अधिकतम (कट अफ)मिति तोक्ने अधिकार आयोगलाई दिनेगरी अध्यादेश जारी भएको बताए ।
‘अहिलेको कानुनले निर्वाचनको घोषणा भएपछि मतदाता नामावली संकलनको परिकल्पना गरेको थिएन,’ उनले भने, ‘अब त्यो बन्देज हट्ने गरी कानुनी सम्बोधन भएको छ ।’
आयोगले प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी १६ असार २०८२ देखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम बन्द गरेको थियो । अध्यादेश जारी भइसकेको र राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी छ । त्यसलगत्तै निर्वाचन आयोगले मतदाना नामावली संकलनसम्बन्धी सूचना निकाल्नेछ ।
आयोगले देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा बुथ राखेर मतदाता नामावली संकलन गर्नेछ ।
मतदाता नामावली संकलनका लागि भीड बढेपनि कर्मचारीहरूको संख्या थपेर भएपनि व्यवस्था मिलाउनु जरुरी छ ।
