
२ कार्तिक,काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध अमेरिकाभर विशाल प्रदर्शन भएको छ। “नो किङ्स” नाम दिइएको आन्दोलन न्युयोर्क, वासिङ्टन डीसी, शिकागो, मियामी र लस एन्जलससहितका ठूला शहरमा एकैसाथ सुरु भएको बीबीसीले उल्लेख गरेको छ ।
न्युयोर्कको प्रसिद्ध टाइम्स स्क्वायरमा स्थानीय समय अनुसार बिहानैदेखि हजारौँ प्रदर्शनकारी भेला भएको र राजतन्त्र नभइ लोकतन्त्र चाहिने भावसहितका नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरूले सडक र सबवे प्रवेशद्वार भरिएको जनाइएको छ ।
ट्रम्प प्रशासनले कार्यकारी आदेशमार्फत् संसदले पास गरेको बजेट रोक्ने, संघीय निकाय विघटन गर्ने र राज्यहरूको विरोध हुँदाहुँदै नेशनल गार्ड परिचालन गर्ने जस्ता कदम संविधानविपरीत भएको प्रदर्शनकारीले आरोप लगाएका छन्।
ट्रम्पका पछिल्ला नीतिहरुले उनलाई संचारमाध्यमहरुले राजाको संज्ञा दिन थालेका छन्। बीबीसीका अनुसार ट्रम्पले फक्स न्युजसँगको एक अन्तर्वार्तामा आफूमाथिको आरोप अस्वीकार गर्दै प्रदर्शनलाई नाटकको संज्ञा दिएका छन्।
स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शन अमेरिकाभर शान्तिपूर्ण तर सशक्त रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्। उनीहरूले यस आन्दोलनलाई लोकतन्त्र र नागरिक अधिकारको पुनःस्थापनाका लागि स्वतफूर्त उठेको आवाज भनेका छन्।
