
११,माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहलाई स्टार्टअप विजेनसका लागि सहयोग गरिने भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ पूँजी प्रदान गरिने भएको हो । ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि,पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरुको ३ देखि ५ जनासम्मको समूह बनाएर नवीनतम् व्यवसाय गर्नका लागि सो रकम प्रदान गरिएको जनाइएको छ ।
विश्वविद्यालय उपकुलपति प्रा.डा.शारदा थपलियाले विश्वविद्यालयमा अध्ययरत र उत्पादित जनशक्ति रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिन सक्ने बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइन् ।
विद्यार्थीले आफ्नो समूहका साझा सोच र धारणासहित पेस गरेको योजनामा विश्वविद्यालयले लगानी गरेर सहयोग गरेको पनि उनले बताएकी छिन् ।
विद्यार्थीलाई उद्यमशीलता र स्वरोजगारतर्फ जोड्नका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने पनि उनले प्रतिबद्धता जनाएकी छिन् ।
उद्यमी समूहहरूले मोरिङ्गा पाउडर उत्पादन,पूर्वको धुले अचार,सजावटी बिरूवाहरुको टिस्यू कल्चर, एग्री अर्गानिक भर्मिवास,ट्राइकोभर्मी कम्पोष्ट,जिरो वेष्ट फिस प्रोडक्ट उत्पादनका लागि पेश गरेका विस्तृत व्यावसायिक योजना विज्ञहरूको समूहले स्वीकृत गरेपछि सो रकम प्रदान गरिएको हो ।
निर्देशनालयका उप–निर्देशक डा।उज्वल तिवारीले विद्यार्थी समूहलाई सुरुमा ५० प्रतिशत रकम उपलब्ध गराउने पछि व्यवसायको प्रगति हेरेर थप बीउ पुँजी उपलब्ध गराइने बताए ।
विद्यार्थीहरूले पेश गरेका व्यवसायिक प्रस्ताव मध्येबाट प्रारम्भिक छनौटमा परेका १२ वटा समूहलाई उद्यमशील बनाउन ‘विजनेश इन्क्यूवेशन सेन्टर’ मार्फत ४ दिने बुट क्याम्प तालिम सञ्चालन गरिएको थियो।
‘यसअघि, पनि निर्देशनालयले बुट क्याम्पहरु सञ्चालन गर्दै ७ वटा समूहलाई बीउ पूँजी रकम उपलब्ध गराएर उद्यमी र आत्मनिर्भर बनाउन सहयोग गरेको थियो।
