
२७ माघ,काठमाडौं ।सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा आदेश दिएको छ।
न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले २०८२ भदौ ३ गते जारी गरेको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो।
त्यतिबेला भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेपछि सो निर्णयविरुद्ध आवाज उठाउँदै अधिवक्ता रामबहादुर रावल सर्वोच्च अदालत गएका थिए।
सर्वोच्चले आइतबार जारी गरेको आदेशमा भनेको छ,‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिक मन्त्री ज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरिएको छ ।’
सर्वोच्च अदालतले यातयातका साधनमा जडान गरिने इम्बोस्ड नम्बरको अक्षर र अंक दुवैमा नेपाली भाषा हुनुपर्ने भनी २०७६ मंसिर गते सरकारका नाममा आदेश दिएको थियो ।त्यसपछि भाषा आयोगले समेत इम्बोस्ड नम्बरमा देवनागरीमा राख्न सरकारको ध्यानाकर्षण गराएको थियो।
