आजदेखि मतदाता नामावली संकलन सुरु

२२ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको काम आजदेखि सुरु हुने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संलनको काम सुरु गर्ने निर्णय गरेको हो ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।