
२३ बैशाख,कास्की। कास्कीको रुपा गाउँपालिकामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम मंगलबार सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्यमा १८ दिनको तालिम आयोजना गरि सम्पन गरिएको हो।
३५ जनाको सहभागिता रहेको सो तालिमपश्चात ५ नं वडाको सभाहलमा समापन कार्यक्रम गरि सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
प्रशिक्षार्थीहरूलाई विपद्को परिचय र विशेषता,नेपालमा विपद् व्यवस्थापन प्रणाली,मेडिकल फस्ट रेस्पोन्डर,बाढी, पहिरो तथा डुबान,अग्नि नियन्त्रण तथा वन डढेलो,रोप रेस्क्यु बाट गरिने उद्धार,भूकम्पीय जोखिम न्यूनीकरण,सडक दुर्घटना र जोखिम न्यूनीकरणको परिचय सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय,काम विभिन्न किसिमको बेस बनाउने तरिका,वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद्धान्तिक तथा व्यावहारिक दुवै पक्षमा जोड दिइएको आयोजकको भनाइ छ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्त बहादुर सिंहले विपद्को अवस्थामा सबैभन्दा पहिला घटनास्थलमा पुग्ने समुदाय नै हुने भएकाले,आवश्यक ज्ञान र सीपको अभावमा क्षति बढ्न सक्ने भन्दै उचित तालिम र तयारीले धेरै हदसम्म जनधनको क्षति न्यूनीकरण गर्न सकिने सानो सीप र सीमित साधनले पनि ठूलो उपलब्धि हासिल गर्न सकिने बताए।
