
१९ जेठ,काठमाडौं ।मनसुन भित्रिन अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आउँदो एक हप्ता गर्मी बढ्दै जाने सम्भावना देखिएको छ ।
यसको प्रभाव तराई मधेशका जिल्लाहरुमा बढी देखिने मौसमविदहरुले बताएका छन् । उनीहरुका अनुसार अबका केही दिन पानी पर्न कम हुने भएकाले गर्मी बढ्ने अधिक सम्भावना रहेको हो ।
मौसमविद उज्ज्वल उपाध्यायले भने, ‘आउँदो एक हप्ता त्यति सजिलो छैन ।अब एक साता गर्मी बढ्दै जाने देखियो । तराई पुनः पाक्ने भयो ।’
मनसुनी बादल सोमबार दिउँसो भारतको पश्चिमीघाट र केरला पुगे पनि बादलको घनत्व र गती दुवै कमजोर देखिएकाले यो प्रणाली नेपालसम्म आइपुग्न केही दिन लाग्ने अनुमान गर्दै उनले सुरुवाती मनसुन अति नै कमजोर हुने सम्भावना रहेको उनले बताए ।
अघिल्ला दिनहरुमा विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँठाउँमा वर्षा भएको थियो । तर अब तापक्रम विस्तारै उकालो लाग्ने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागद्धारा सोमबार साँझ जारी गरेको बुलेटिन अनुसार आज जेठ १९ गते मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईका जिल्लाहरुमा तातो दिन हुने सम्भावना छ ।
