भारतमा रविको स्वागतमा भाजपाले राख्यो होर्डिङबोर्ड

१९ जेठ,काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार दिउँसो नयाँ दिल्ली पुगेछन्।

उनी त्यहाँ पुगेपछिदिल्ली विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले सभापति लामिछानेसहितको भ्रमण टोलीलाई स्वागत गरेका थिए ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा,पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमणमा छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार, रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् ।त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले भाजपा नेतृत्व,भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटघाट,छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।

भाजपाकै निमन्त्रणमा भारत गएका सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा लामिछानेको तस्वीर राखिएको छ ।

 भारतमा यसअघि अन्य शीर्ष तहका नेताहरू जाँदा पनि यस्तो हुनेगर्थ्यो ।