लुम्बिनीमा भुटानी गुम्बा निर्माण गरिदैं

१३ असार, रूपन्देही ।  लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज शनिार औपचारिक रूपमा शिलान्यास गरिएको छ ।

भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री को उपस्थितिमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरेका थिए।

शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन समेत गरेका थिए । गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको बताए ।

उनले भने, ‘लुम्बिनी परिसरमा नयाँ भुटानी मन्दिर निर्माण कार्य सुरु गर्नका लागि भूमि देवीको आशीर्वाद लिन हामी यहाँ उपस्थित भएका छौँ । यो परियोजनाले भुटानी बौद्ध परम्परा र संस्कृतिलाई बुद्धको जन्मभूमिसँग जोड्नेछ ।’

भुटान सरकार र लुम्बिनी विकास कोषबीच गतवर्ष गुम्बा निर्माणसम्बन्धी समझदारीपत्र मा हस्ताक्षर भएको थियो।उक्त सम्झौताअनुसार चालु वर्षभित्रै परियोजना सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दै निर्माण प्रक्रिया अघि बढाइएको हो ।