
१८ असार,काठमाडौं ।उच्च अदालत पाटनले नेपाल मेडिकल काउन्सिलको कार्यक्षेत्र र नियमन गर्ने अधिकारलाई सदर गर्दै स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट प्रालिले दायर गरेको रिट निवेदन खारेज गरेको छ।
डा. चेतना पौडेल जोडिएको उक्त रिटमा रिसोर्ट पक्षले नेपाल मेडिकल काउन्सिलले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अनुगमन गरेको तथा अनावश्यक दुःख दिएको दाबी गरेको थियो।
उच्च अदालतको फैसलासँगै आधुनिक चिकित्सा (एलोपेथी) को अभ्यास, नियमन तथा त्यससम्बन्धी कानुनी अधिकार नेपाल मेडिकल काउन्सिलमै निहित रहेको उल्लेख गरिएको छ।
नेचुरोपेथीलगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा निदान र उपचारसम्बन्धी क्षेत्रमा हस्तक्षेप गर्न नपाउने अदालतको निर्णयले कानुनी व्यवस्थालाई थप पुष्टि गरेको जनाइएको छ ।
यो फैसलालाई नेपाल मेडिकल काउन्सिलको नियामक अधिकारलाई न्यायिक रूपमा समर्थन गर्ने महत्त्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।
