
२२ असार,काठमाडौं । सरकारले १६० वटा सार्वजनिक बसमा सीसीटीभी तथा ड्यासक्याम जडान गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार यसमध्ये सबैभन्दा धेरै साझा यातायातका बसमा जडान गरिएको छ । साझाका १११ वटा बसमा सीसीटीभी क्यामरा जडान भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।
जसमा ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस रहेको मन्त्रालयले जानकारी दिएको छ । महानगर यातायातका ४६ वटा बसमा यस्तो क्यामरा राखिएको छ ।
मन्त्रालयका अनुसार पाँचपोखरी सुनौलो यातायातका तीन वटा बसमा समेत सीसीटीभी तथा ड्यासक्याम जडान गरिएको छ । अहिलेसम्म १६० सार्वजनिक सवारीमा यस्तो क्यामरा जडान भएको र अन्यमा जडान हुने क्रममा रहेको मन्त्रालयको भनाइ छ।
मापदण्ड अनुसार अब ट्याक्सी,टेम्पोदेखि ठूला बस सबैले अनिवार्य सीसीटीभी क्यामरा जडान गर्नुपर्नेछ । १३ चैत २०८२ मा मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा सरकारले यस्तो घोषणा गरेको थियो ।
