सानो भन्दाभन्दै ठूलै गल्ती गरियो र यो अवस्थामा आइपुगियो : प्रचण्ड

२२ असार,काठमाडौं ।नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले विगतमा पार्टी राजनीति र देशको लागि ठूलै गल्ती गरेका कारण अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरेका छन् ।

पार्टीको उपत्यका प्रदेश समितिको कार्यक्रममा प्रचण्डले संघमा प्रधानमन्त्री,मन्त्री तथा प्रदेशमा मुख्यमन्त्री र मन्त्री बन्ने लोभ र बिचौलियाहरूसँगको साँठगाँठका कारण आफूहरू अहिलेको अवस्थामा आइपुगेको स्वीकार गरेका हुन्।

उनले विगतमा ठूलो क्रान्ति र त्याग गरे पनि पुराना संसदीय दलको सिको गर्दा अहिले यो अवस्थामा पुगेको बताएका छन् ।कार्यक्रमा उनले एउटा सानो पार्टीको सांसदको रूपमा बस्नुपर्दा लज्जाबोध हुने गरेको दुखेसो पोखे।

‘हामीलाई लाग्यो ( अरुले गरेका छन् भने हामीले गर्न किन नहुने? ’, उनले भने, ‘पदका लागि, प्रतिष्ठाका लागि, पैसाका लागि दलालसँगको साँठगाँठमा लाग्यौँ। त्यसैले जनतामा हामीप्रति वितृष्णा उत्पन्न भयो। हामी अहिलेको अवस्थामा आइपुगयौँ।’

पद र पैसाको लोभले आफूसमेत अहिले संसद्‍मा सानो पार्टीको सांसदको भूमिकामा सीमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै उनले गल्ती गर्दैनौँ भन्दै सा–साना गल्ती दोहोर्‍याउँदा ठूलै गल्ती भएको स्वीकारसहित आत्म आलोचना पनि गरेका छन् ।