
२२ असार,काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोर अन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयद्धारा आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसम्बन्धी छलफलमा कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना उनले सुनाए।
कार्यक्रममा उनले आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरला राजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने र मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।
मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री पौडेलले सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्।
